फाइल तस्वीर
काठमाडौं — संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । सचिवालयले शपथ ग्रहणको मिति भने भोलि तोक्ने बताइएको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताएअनुसार जेष्ठ प्रतिनिधिसभा सदस्यको पहिचान गर्ने र पहिले ति जेष्ठ सदस्यलाई सांसद्को पदको शपथ ग्रहण गराएपछि मात्रै जेष्ठ सांसदबाट अन्य सांसदहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइनेछ । यसका लागि संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा जेष्ठ सदस्यको पहिचान गरिसकेको छ ।

निर्वाचन आयोगमा पेश भएको जन्ममिति खुलेको नागरिकताका आधारमा जेष्ठ सदस्यको पहिचान गरेरमात्रै सांसदहरुको शपथ ग्रहणको मिति कार्यक्रम तय गर्ने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले प्राप्त गरेको अभिलेख अनुसार नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेष्ठ सांसद राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमसेर जङ्गबहादुर राणा रहनु भएको छ । राणाको उमेर ८० वर्ष देखिएको छ । राणालाई पहिले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइने र त्यसपछि राणाले अरु सांसदहरुलाई पद तथा गोपनियकता शपथ ग्रहण गराउनुहुनेछ । जेष्ठ सदस्यको शपथ ग्रहण भने राष्ट्रपतिबाट गराइनेछ ।