फाइल तस्वीर
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ’नवगठित प्रतिनिधिसभा दुई–अढाई वर्षभित्र दुर्घटनामा पर्न सक्ने बताउनु भएको छ । नेता थापाले पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।
राप्रपा नेपालका अध्यक्ष थापाले अहिलेको राजनीतिक संरचनाभित्र धेरै त्रुटीहरु रहेकाले हालै सम्पन्न निर्वाचनबाट देशले भोग्नुपरेको सङ्कटको समाधान हुन नसक्ने दावीसमेत गर्नुभएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा नेता थापाले ’आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधिसभा दुई–अढाई वर्षभित्र दुर्घटनामा पर्न सक्ने खतरा छ’ भन्नुभयो ।

नेपालको निर्वाचन अत्यन्त महङ्गो भएको बताउँदै यसका विकृति र विसङ्गतिका कारण संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढेको भन्दै ’चुनावी परिणाम प्रतिकुल रहे पनि आगामी दिनमा बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियानलाई अझ सशक्त बनाएर लैजाने’ जिकिरसमेत गर्नुभयो । अध्यक्ष थापाले आफु राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा अडिग रहेकोसमेत धारणा व्यक्त गर्नुभएको थियो ।