फाइल तस्वीर
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी फोरम बनाउने प्रस्ताव गर्नुभएको छ । आज दिउँसो पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव राख्नुभएको हो ।

अध्यक्ष प्रचण्डले समाजवादतिर जान चाहने सबै शक्तिहरुलाई एकतृत गर्दै अगाडि बढ्न यस्तो फोरम आवश्यक भएको धारणा बैठकमा राख्नु भएको पार्टीका उप–महासचिव हरिबोल गजुरेलले जानकारी गराउनु भएको छ । ‘समाजवादी फोरम बनाउने कि भन्ने प्रस्ताव अध्यक्षले गर्नु भएको छ, तर त्यस विषयमा खासै छलफल भएन भएन’ नेता गजुरेलले भन्नुभयो ।

गत निर्वाचन अघि माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर समाजवादी केन्द्र बनाउने भन्दै एकता संयोजन समिति समेत बनाउने सहमति गरेका थिए । यता डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि समाजवादी केन्द्र बनाएर पार्टी एकता गर्नेभनि एक महिना अघि सम्पन्न भएको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडाएको थियो ।

नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँगको सम्भावित एकताका लागि बलियो आधार बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजको बैठकमा समाजवादी फोरमको विषयलाई उठान गर्नुभएको भएको नेताहरुको भनाइछ । यसैसन्दर्भमा अर्थमन्त्री समेत रहनुभएका उप–महासचिव जनार्दन शर्माले पनि समाजवादी केन्द्र बनाउने यो प्रस्ताव पहिलेकै एजेण्डा भएको बताउनु भयो । मन्त्री शर्माले समाजवादी केन्द्र बनाउने त माओवादी एजेण्डा नै हो, यसका लागि समाजवादी धारका राजनीतिक दलहरुसँग सहकार्य गर्न सकिने बताउनुभयो ।


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले केहीसमय पहिले अबको कार्यदिशा समाजवाद भएको हुँदा समाजवादप्रति विश्वास राख्ने राजनीतिक दलहरु मिलेर अघि बढ्नु पर्ने धारणा विभिन्न फोरमहरुमा राख्दै आउनु भएको थियो । नेपालको संविधानले पनि समाजवाद उन्मुख धारणालाई लिपिबद्ध गरेछ ।