काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राष्ट्रपति राजनीतिक पृष्ठभूमिकै व्यक्ति हुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै जुनसुकै पार्टीबाट भएपनि संविधानप्रति प्रतिवद्ध राजनीतिक पृष्ठभूमि भन्दा बाहिरबाट नल्याइने र राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने सहमति भएको बताउनुभएको हो ।
‘अब बन्ने नयाँ राष्ट्रपति गैरराजनीतिक पृष्ठभूमिको हुन्छ भन्ने चर्चा छ । त्यस्तो हुँदैन । जुनसुकै दलबाट आएपछि राजनीतिक पृष्ठभूमि हुने भन्ने गठबन्धनमा समझदारी भएको छ ।’ अहिलेको व्यवस्था बलियो बनाउन पनि राजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने प्रचण्डको भनाई छ ।
शक्ति बाँडफाँडबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल भइनसकेको भन्दै प्रचण्डले अहिले नै त्यसको ठोस खाका बन्न नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसबारे गठबन्धनमा अझै व्यवस्थित छलफल भएको छैन’, ‘देउवाजीले संसदीय दलको नेता चयनपछि छलफल गरौंला भन्नु भएको छ ।’ पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत राजकीय पदमा एकमुस्ट भागवण्डा गरिने बताउनुभएको छ ।