काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । उहाँले आज आइतबार राजनीतिक दलहरूलाई सात दिनको समय दिँदै धारा ७६ (२) अनुसारको सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसकेको छ । योसँगै सरकार गठनको बाटो पनि खुलेको छ । संवैधानिक प्रावधानअनुसार अन्तिम निर्वाचन परिणाम प्राप्त भइसकेपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ । राष्ट्रपतिले अन्तिम परिणाम प्राप्त भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको छ । संविधानको धारा ७६ को उपधारा ‘२’ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने सांसदलाई प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।

अतः राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ /९/१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ ।’