काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू प्रमुख प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज आइतबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने बताउनुभएको हो ।

“एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उहाँले भन्नुभयो, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।” अहिले पाँच दलीय गठबन्धन सरकार गठनको तयारीमा भएको तर त्यसभित्र पनि कुनै पनि दललाई बहुमत प्राप्त नभएको उहाँको भनाइ छ ।

प्रत्यक्ष निर्वाचनतर्फ दलित समुदायलाई उम्मेदवार बनाएर विजयी बनाउने पार्टीका रूपमा नेकपा एमाले पहिलो पार्टी बनेको उहाँको दाबी छ । कार्यक्रममा गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका उत्पीडित समुदायका १७ सांसद्लाई सम्मान गरिएको थियो ।