फाइल तस्वीर
काठमाडौं — मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट विभिन्न राजनीतिक दलले समानुपातिक सांसद्मा चयन गरेका सांसद्हरुलाई आज आइतबार निर्वाचन आयोगले प्रमाणपत्र दिने भएको छ । आयोगले दलबाट सांसद्मा सिफारिस गरेकाहरुलाई समानुपातिक सांसद्को मान्यता दिंदै उनीहरुलाई प्रमाणपत्र दिन लागेको हो ।


निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा समानुपातिक कोटाबाट सांसद चयन भएकालाई र प्रदेशसभामा समानुपातिकबाट सांसद् भएकाहरुलाई तत्तत् प्रदेशबाट प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था भएको छ ।


सङ्घीय संसद् अन्तगर्त प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ नेकपा एमालेबाट ३४ जना, नेपाली काङ्ग्रेसबाट ३२ जना, नेकपा माओवादी केन्द्रबाट १४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७ जना, जनता समाजवादी पार्टीबाट ५ जना र जनमत पार्टीबाटे ५ गरी कुल ११० समानुपातिक सांसद्मा चयन भएका छन् । उनीहरु सबैलाई आयोगले आज प्रमाणपत्र उपलब्ध गराउन लागेको हो ।


समानुपातिक प्रणालीबाट नवनिर्वाचित सांसद्हरुलाई आज दिउँसो १ बजे कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयबाट प्रमाणपत्र वितरण गर्ने भएको हो ।