फाइल तस्वीर
काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच आगामी सरकार गठन र त्यसको नेतृत्वबारेमा दुई शीर्ष नेताबीच छलफल भएको छ ।

सो भेटघाटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनका तर्फबाट अब बन्ने सरकारको नेतृत्व गर्न सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । अध्यक्ष प्रचण्डले काङ्ग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवासँग गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै आगामी नयाँ सरकारको नेतृत्वका आफुले गर्न पाउनु पर्ने भन्दै सोको लागि सहयोग गर्न आग्रह गर्नुभएको बताइएको छ ।

अध्यक्ष प्रचण्डले काङ्ग्रेस सभापति देउवासँग औपचारिक रुपमा यसरी पहिलो पटक प्रस्ताव राख्नु भएको बताइन्छ । निर्वाचन सम्पन्न भए पश्चात् माओवादी केन्द्रका अध्यक्षले औपचारिक रुपमै विभिन्न कार्यक्रममा प्रधानमन्त्रीमा आफ्नो दावी रहेको बताउँदै आउनु भएको थियो । प्रचण्डको प्रस्तावप्रति देउवाले गठबन्धनको बैठकमा छलफल गर्नुपर्ने जवाफ दिनुभएको बताइएको छ ।

यता नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी नयाँ बन्ने सरकारको नेतृत्वमा माओवादी केन्द्रको दावी स्वाभाविक भएता पनि काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउन उपयुक्त धारणा व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले पनि आगामी सरकारको नेतृत्व आफूले नै गर्ने सङ्केत गरिसक्नु भएको छ । प्रधानमन्त्री देउवाले औपचारिक रुपमा कतै यो विषयमा धारणा नराखे पनि आफ्ना निकट नेताहरूसँग यो अन्तिम पटक आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । देउवाका विश्वासपात्र मानिनुहुने पार्टी प्रवक्ता र स्वयम देउवाको भनाइलाई तारतम्यका रुपमा लिइएको छ । त्यसो त नेपाली काङ्ग्रेसभित्रै पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापासमेत प्रधानमन्त्रीमा दावी गर्दै आउनुभएको छ ।