फाइल तस्वीर
ललितपुर— प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनु भएको छ । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय सरकार प्रत्यक्ष जनतासँग निकटम सरकार भएको हुँदा यसले गर्ने कामकारवाही जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै जनप्रतिनिधिहरुले सोही अनुसारका काम गर्न निर्देशन दिनुभयो । नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नु पर्नेमा जोड दिंदै ‘ललितपुर महानगरपालिकाले सम्पदाहरूको संरक्षणका लागि गरेका कामहरूको प्रशंसासमेत गर्नुभयो । उहाँले ‘निर्माणाधीन सम्पदाहरूको निर्माण कार्य सम्पन्न भएपछि एकातिर पर्यटकहरूको प्रवर्द्धन गर्न सहयोग पुग्नेछ भने अर्कातिर सांस्कृतिक स्मार्ट सिटीको रुपमा विकास गर्न पनि सहयोग पुग्ने दावीसमेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको भन्दै खुसी व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले ‘धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी उपत्यकाकै जेठो ललितपुर महानगरपालिकाको १०४ वर्षमा प्रवेश गरेको सुख्द अवसरमा महानगरबासी तथा जनप्रतिनिधिहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरुसहित अघि बढेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

नेपालको मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन् भन्दै प्रधानमन्त्री देउवाले ‘यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन । यस महत्वपूर्ण निधि र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रुपमा विकास गर्न जनप्रतिनिधि र महानगरबासीले एकआपसमा हातेमालो गर्दै अघि बढन आवश्यक छ’ भन्नुभयो ।