काठमाडौं – निर्वाचन आयोगले मङसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसअघि आजै निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनुभएको थियो ।