काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्ने बताउनुभएको छ । आज काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महानगरप्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनः जागरण गर्न लागेको बताउनुभएको हो ।
महानगरप्रमुख बालेनले उपत्यका भित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताउँदै काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनः जागृत गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृतिहरूलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण र मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्ताहरूलाई पनि सिकाउँदै जानुपर्ने बताउनुभयो ।
महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भन्नुभयो–‘हाम्रो संस्कृतिहरूलाई कसरी पुनर्जागरण गर्ने ? कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने ? हाम्रो नयाँ पुस्ताहरूलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजाहरूलाई कसरी अभिलेखीकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिष्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्ताहरूलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरूलाई पनि राख्यौं ।’