फाइल तस्वीर

काठमाडौं – ‘क्याबिन क्रु’ को अवरोधका कारण राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुन पुगेको छ । करारमा रहेका कर्मचारीलाई अवकाश दिने विषयलाई लिएर यतिखेल निगमका कर्मचारीहरु आन्दोलित हुँदा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो ।

‘क्याबिन क्रु’ को आन्दोलनका कारण साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ दिल्लीका तीन वटा उडानहरु अवरुद्ध हुँदा निगममा यात्रा गर्ने यात्रु रोकिएका छन् । कर्मचारीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान नै अवरुद्ध हुँदा निगमको साखमा समेत धब्बा लागेको छ ।

निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार आजका लागि निर्धारित उडानहरु प्रभावित भएको र सयौं यात्रुलाई समस्या भएको छ । ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अन्तर्राष्ट्रिय उडानमा रहेका निगमका जहाजहरुको उडानमा समेत ढिलाइ हुन पुगेको सहायक प्रवक्ता घिमिरे बताएका छन् ।