फाइल तस्वीर
काठमाडौं – हालै सम्पन्न निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तित्वलाई राष्ट्रपति बनाउने विषयले राष्ट्रिय राजनीतिलाई तरङ्गीत बनाएको छ । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्को अध्यक्ष भैसक्नु भएका खिलराज रेग्मीलाई बालुवाटार बोलाएपछि राजनीति तरङ्गीत बन्न पुगेको हो ।
सरकार गठन र राष्ट्रपति निर्वाचनको विषयमा राजनीतिक दलहरुबीच गहन छलफल नहुँदै विदेशी शक्तिकेन्द्रको चलखेल बढ्न थालेसँगै प्रधानमन्त्री देउवाले रेग्मीलाई बालुवाटारमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ । शक्ति पृथकीकरणको सिद्धान्तविपरीत गैरराजनीतिक व्यक्तिलाई देशको सर्वोच्च पदमा लैजानु संसदीय राजनीति र जनमतको खिलाफमा रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ ‘ दलभन्दा बाहिरबाट अराजनीतिक व्यक्ति खोज्ने कुरा आत्मसमर्णवादी धारा हो । यस्तो चिन्तन सरासर गलत हो यो मान्न सकिँदैन’ भन्नुहुन्छ । गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियताप्रति प्रतिकूल हुने बताउँदै ‘राजनीतिक पृष्ठभूमि नभएर गैरराजनीतिक खालको कुरा उठेको छ । यस्तो गर्न खोज्नु राष्ट्रियता प्रतिकूलको धारणा हो’— नेता गुरुङको भनाइ छ ।
मुलुकको रक्षा गर्ने अभिभारा वैचारिक रुपमा राजनीतिक पार्टीहरूको भन्दै माओवादी केन्द्रका महासचिव गुरुङले विचारधाराबिना मुलुकको रक्षा गर्न नसकिने हुँदा देशको प्रमुख पदमा दलभन्दा बाहिरबाट अराजनीतिक व्यक्ति खोज्ने कुरा आत्मसमर्णवादी धारा हो । यस्तो चिन्तन सरासर गलत हो । गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड हुने नेता गुरुङको तर्क छ ।