फाइल तस्वीर

काठमाडौं – निर्वाचन आयोगले आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको नतिजाको प्रतिवेदन बुझाउने भएको छ । प्रतिनिधिसभा नतिजाको प्रतिवेदन राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान रहेको छ ।

सोही अनुसार आज बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ । प्रदेश सभाको प्रतिवेदन भने पुस २ गते शनिबार मात्र प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट सङ्घमा दुई सय ७५ र प्रदेशमा पाँच सय ५० जना गरी आठ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगले प्रतिवेदन बुझाएसँगै सङ्घ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।