काभ्रे – प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रेमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिनुभएको छ । उहाँले आज बुधबार बिहान सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै आफूले दुर्घटनाका घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएको जानकारी गराउनुभएको हो ।
‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दुःखी भएको छु । दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीट गर्दै लेख्नुभएको छ, ‘साथै घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छु ।’
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेहरूको उपचार धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, काठमाडौँस्थित वीर अस्पताल, न्युरो अस्पताल बाँसबारीलगायतका अस्पतालमा उपचार भइरहेको बताइएको छ ।