काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बा ३ ख ४३८५ नम्बरको बसमा ३९ यात्रु सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकाहरुको शव धुलिखेल अस्पतालमा लगिएको छ ।