काठमाडौं – काठमाडौं विश्वविद्यालयको आयोजनामा उच्च स्तरीय भ्रमण हुन लागेको छ । नेपालबाट भारतका विभिन्न स्थानमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उच्चस्तरीय शैक्षिक भ्रमण हुन लागेको हो ।
काठमाडौं विश्वविद्यालयको आयोजनामा पुस २ देखि पुस ९ गतेसम्म भारतको चेन्नाई, हैदराबाद र चिरुपति लगायतका क्षेत्रमा उच्चस्तरीय शैक्षिक भ्रमण हुन लागेको हो ।
काठमाडौं विश्वविद्यालय (केयू) र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासबीच मास्टर डिग्रीका कक्षा सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणको बेला केयू र आईआईटीबीच मास्टर डिग्रीमा इनर्जी साइन्सका कार्यक्रम सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सोही आधारमा मद्रासमा कक्षाहरू सञ्चालन भइरहेका छन् ।
भ्रमणको क्रममा उक्त कार्यक्रमको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ । काठमाडौं विश्वविद्यालयको आयोजनामा हुने उक्त भ्रमणमा शिक्षामन्त्री पौडेलले नेतृत्व गर्नुहुने कार्यक्रम छ ।
आफ्नो भ्रमणको विषय र आफूले गर्ने कामको विषयमा शिक्षामन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनुभएको छ । त्यस्तै आगामी सरकार गठनका विषयमा समेत छलफल भएको थियो । माओवादी केन्द्रका नेता समेत रहनुभएका पौडेलले भावी सरकार गठनका विषयमा प्रधानमन्त्री देउवासँग चासो राख्दै गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।