काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसङ्घ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो ।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तय गरेको छ । नेविसङ्घका नेता विष्णु बडैलाका अनुसार, सोही मितिमा चुनाव गर्न र त्यसको तयारी थाल्न माग गर्दै नेविसङ्घ स्ववियु निर्वाचन पक्षधर समूहले ज्ञापनपत्र बुझाएको हो । स्ववियुको निर्वाचन २÷२ वर्षमा हुनुपर्ने त्रिविको कानुनी व्यवस्था छ । तर, त्रिविका आङ्गिक क्याम्पसहरूमा विगत १४ वर्षदेखि र देशैभरका क्याम्पसहरूमा विगत ५ वर्षदेखि चुनाव हुन सकेको छैन ।

विद्यार्थी आन्दोलन र राजनीतिलाई कमजोर र निरीह तुल्याउने, विश्वविद्यालयमा शैक्षिक मुद्दा ओझेलमा पार्ने र विश्वविद्यालयमा भ्रष्टाचार मौलाउने गरेको भन्दै त्यसलाई निरूत्साहित पार्न हरेक २/२ वर्षमा चुनाव हुनुपर्नेमा नेविसङ्घले जोड दिएको छ ।

नेविसङ्घ स्ववियु निर्वाचन पक्षधर समूहले प्रत्येक २/२ वर्षमा स्ववियु निर्वाचन गराउनु सबैको प्रमुख दायित्व भएकाले यस विषयमा गम्भीर भएर लाग्न समेत माग गरेका छन् । उनीहरुले स्ववियु निर्वाचनका लागी आफूहरू तयार रहेको बताउँदै त्यसका लागि विश्वविद्यालयले पनि सशक्त भएर अगाडि बढ्न माग गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घद्वारा सार्वजनिक विज्ञप्तिमा ‘हामीसँग भएका पटक–पटकका वार्ता र शैक्षिक क्यालेन्डरलाई कार्यान्वयन गरी समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र परीषा नियन्त्रण कार्यालयका सबै कामकाज आनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन हार्दिक अनुरोध गर्दछौं’ भनी उल्लेख गरिएको छ ।