काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने गरी अध्यादेश ल्याएपछि काङ्ग्रेसभित्रैबाट विरोध भएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्क्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गर्नुभएको हो ।
महामन्त्री शर्माले सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु गलत भएको बताउनु भएको हो । सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि काङ्ग्रेस महामन्त्री शर्माले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफ्ना धारणा सार्वजनिक गर्नुभएको छ । उहाँले ट्वीटमा लेख्नुभएको छ । सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् ,असहमति‘ ! ‘सङ्क्रमणकाल’मा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन@PM_nepal_यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ !
काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रुपमा अध्यादेश ल्याउने सरकारको विरोध जनाउँदै ट्वीटरमार्फत् प्रधानमन्त्रीलाई मेन्सन गर्दै सो विषयमा पार्टीमा छलफल नहुनु गलत भएको बताउनुभएको हो । उहाँले अध्यादेश ल्याउनु कानुनी, राजनीतिक मात्र नभई नैतिक प्रश्न भएको पनि टिप्पणी गर्नुभएको छ ।
महामन्त्री शर्माले यसअघि आफू विपक्षमा हुँदा सरकारका गलत कामको विरोध गरेको स्मरण गराउँदै अहिले आफू सरकारमा हुँदा भएका गलत कामको पनि विरोध गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद्को हिजो आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । महामन्त्री शर्माले सो निर्णयको विरोध जनाउनुभएको हो ।