काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाउनुभएको छ ।
विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाउनुभएको हो ।
एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । ढकाललाई सांसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ ।
यसै विषयलाई लिएर एमाले नेता भीम रावलले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ,
अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।
