प्रतिकात्मक तस्वीर
लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
पौडेलले विगत १० वर्षदेखी खुदीमा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट पसलमा रहेका सामाग्री साथै कम्प्युटर, ल्यापटप, डिएसएलआर क्यामरा, फोटोकपी, प्रिन्टर, कुर्सी टेबलसहितका सामाग्री जलेको सञ्चालक विमल पौडेलले जानकारी दिएका छन् । आगलागीबाट पसलको सामाग्री जल्नुको साथै कोठाको ढोका, सटर, सिलिङ र भित्तामा समेत क्षति पुगेको बताइएको छ ।
घरधनी मधुराम भण्डारीले जनाए अनुसार घरको माथिल्लो तलामा रहेको कोठाका ३ वटा झ्याल फुट्नुको साथै, पिल्लर र भित्तो चर्किएको र बरण्डामा सुकाएको कपडासमेत जलेको छ ।
आगोको लप्काले सोही घरमा रहेको होटल र हेयर कटिङ पसलमा समेत क्षति पुगेको छ । आगोले छिमेकी बुद्धीबहादुर तामाङको घरका सिसासमेत फुटाएको स्थानीयले बताएका छन् ।
खुदी प्रहरी चौकीका सई प्रेमराज शर्माका अनुसार पुस्तक पसलको १२ लाख, घरको ६ लाख, बसिर हेयर कटिङ पसलको १ लाख, गौमाया गुरुङको खाजा पसलको ४० हजार, बुद्धीबहादुर तामाङको घरमा २० हजार बराबरको क्षति पुगेको छ । पुस्तक पसलका प्रोप्राइटर पौडेलले भने आफ्नो पसलको मात्र १५ लाख बराबरको क्षति भएको दावी गरेका छन् ।
राती वर्ल्डकप फुटबल खेल हेरेर फर्किएका स्थानीय युवाहरुले आगलागी भएको देखेपछि उनीहरूले वरपरका छिमेकीलाई सुचित गरी पानी हालेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।