काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ । आज राजधानीमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै एस अध्यक्ष नेपालले कसैलाई दोष नदिई आ–आफ्नो कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई आग्रह गर्नुभएको हो ।

तीन तहको सरकार मिलेर अघि बढे सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले मुलुकमा कायापलट ल्याउन तीनै तहका सरकारले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।

‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नु पर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । सङ्घीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, ‘संविधानले प्रदत्त गरेको अधिकारहरू जनताले उपयोग गर्न सकुन् । सबै पालिकामा जनताले के–के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ । महिला हिंसामुक्त पालिका होस । छुवाछुत मुक्त मेरो पालिका हुन् । सबै जाति समुदायको माझमा सामाजिक सद्भाव कायम राखेको पालिका हाम्रो होस् । त्यस रूपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने गरी काम गर्नु पर्दछ ।’