फाइल तस्वीर


ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीहित विपरित गतिविधिमा सम्लग्न भएको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा भुसाल, साहसहित केही नेताहरुले पार्टीमा विद्रोह गर्दै एमालेबाट अलग भएपछि उनीहरुलाई पार्टीले कारबाही गरेको हो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेको भन्दै स्थायी कमिटीका सदस्यद्वय भुसाल र साहसहित केन्द्रीय कमिटीका सदस्यहरु गङ्गा चौधरी उपेन्द्र साह, रामप्रित राम, कुन्दन कुशवाह, बद्री न्यौपाने, टेकबहादुर बलम्पाखी र रिता साहलाई समेत केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

यसैगरी निर्वाचनको समयमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साह पनि पार्टीको कारवाहीमा परेका छन् । उनीहरुलाई तोकिएको जिम्मेवारीबाट मुक्त गरिएको नेता गुरुङले जानकारी गराएका छन् ।

चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।