फाइल तस्वीर
काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक संसदको अन्तिम नामावली पेस गर्न दिएको समयसीमा आज शनिबार सकिंदैछ । निर्वाचन आयोगले थ्रेसहोल्ड कटाउने राजनीतिक दलहरूलाई समानुपातिकका सांसदको टुङ्गो लगाउन आज शनिबार चार बजेसम्मको लागि समय तोकेको छ ।

समानुपातिकको सूचीमा परेकाहरुको सांसद सदस्यको लागि नामको अन्तिम टुङ्गो लगाइ निर्वाचन आयोगमा पठाउन दिएको समयसीमालाई मध्यनजर गर्दै आज नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने गृहकार्य गरिरहेका छन् । यता सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भने समानुपातिक सांसदको सूची तयार पारिसकेको बताइएको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेको भागमा परेको छ भने दोस्रोमा नेपाली काङ्ग्रेस, तेस्रोमा नेकपा माओवादी केन्द्र रहेका छन् । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो ।

समानुपातिकबाट प्रतिनिधिसभामा एमालेले ३४ सांसद पाएको छ । उसले प्रदेश १ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा १४ जना , गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना प्रदेशसांसद पाएको छ । यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको काङ्ग्रेसले प्रतिनिधिसभामा ३२ जना, प्रदेश १ मा १२ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद पाएको छ ।

समानुपातिकमा ४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ जना, प्रदेश १ मा ४ जना, मधेश प्रदेशमा ४, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना सांसद पाएको छ ।

यसैगरी २४ सांसदसहित चौंथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन ।

नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ भने जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाउँदा प्रदेशसभामात्र सिट पाएका लोसपाले ३ जना, नेपाल सङ्घीय समाजवादीले १ जना, नागरिक उन्मुक्ति पार्टीले ५ जना, राष्ट्रिय जनमोर्चाले १ जना, हाम्रो नेपाली पार्टीले १ जना सांसद पाएको निर्वाचन आयोगले जनाएको छ ।