काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताउनुभएको छ ।
आज धान्य पूर्णिमा,उधौली पर्वको अवसरमा उहाँले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भएर अगाडि बढ्न समेत आग्रह गर्नुभयो । प्रचण्डले किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस)का अवसरमा दुवै समुदायलाई शुभकामना दिनुभएको छ ।

उहाँले उधौली पर्व तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस) पर्वले नेपालको सांस्कृतिक विविधतासँगै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवर्द्धन गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।