बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुंगल नगरपालिका ९ की ४५ वर्षीया नरपती पातली, ७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ ।
बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नम्बरको जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो । जिप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ ।