काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयल ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि आज बुधबार सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको हो ।

स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा÷कविर÷सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे रहेका छन् ।

यसैगरी बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ । उनीहरुको ठेगानामा लिखित स्पष्टीकरण पेश गर्नू भनेर लेखी पठाउँदा पनि हालसम्म स्पष्टीकरण पेश नगरेकाले सूचना प्रकाशन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

आजदेखि सात दिनभित्र पनि लिखित स्पष्टीकरण नबुझाएमा ती निर्माण व्यवसायी तथा सप्लायर्सहरु कालो सूचीमा पर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।