साङ्केतिक तस्वीर
काठमाडौं– काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।

कोटेश्वरबाट सिनामङ्लतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१९००६ ख ४८ ४० नम्बरको बसले बानेश्वरबाट कोटेश्वर तर्फ जाँदै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।