काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ । आज मङ्गलवार नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानी बारेमा ध्यानाकर्षण पत्र बुझाएता पनि उहाँले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौंमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उहाँको सपना पूरा भएकोप्रति खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, ‘मेलम्ची काठमाडौंका लागि अत्यन्त महत्त्वपूर्ण कुरा हो । आदरणीय कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्छु भन्नुभएको थियो । त्यो कुरा पुरा भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु । सबै मिलेर पूरा गरौं । कसरी हुन्छ, विज्ञ क्याबिनेट राखेर त्यसमा मुख्यसचिवलाई पनि राखेर विकास समिति भन्नुभयो, त्यो आवश्यक छ भने त्यसमा आपत्ति छैन । विकास समिति किन खारेज भयो त्यो सम्बन्धमा पनि कुरा गरौँ । नयाँ बनाउनुपर्ने भए पनि बनाउँला के भयो र ?’

काङ्ग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । अवलोकनपछि उहाँले त्यहाँका समस्याका बारेमा र काठमाडौंवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराउनुभएको हो । ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योल देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको उल्लेख गरिएको छ ।