काठमाडौं – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । शीर्ष नेताहरुबीच सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की आज मङ्गलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपति कार्यालय स्रोतले जनाए अनुसार उहाँहरुबीच भएको झण्डै ४५ मिनेट लामो कुराकानीमा सम्भावित सत्ता समीकरण र समसामयिक राजनैतिक विषयमा छलफल भएको बुझिएको छ । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो राखेको पनि स्रोतले जनाएको छ ।

यहि मङ्सिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मन्त्री कार्कीले राष्ट्रपति भण्डारी सँग भेट्नुलाई राजनीतिक भेटका रुपमा अर्थपूर्ण मानिएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा राष्ट्रपतिलाई भेट्न पुगेको हुन सक्ने विश्लेषण समेत गरिएको छ ।