फाइल तस्वीर

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तापक्रम घट्दै जाँदा तराईका भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्न थालेको छ । हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । ’तराई भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ । मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ ।