साङ्केतिक तस्वीर
काठमाडौं — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभा सदस्यको १६५ सिट र प्रदेशसभा सदस्यको ३३० सिटको नतिजा सार्वजनिक भैसकेको छ ।

आज मङ्गलबार साँझसम्ममा समानुपातिकको मतगणना पनि सकिंदैछ । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ अहिलेसम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भैसकेको छ । प्राप्त पछिल्लो मतगणनाको नतिजाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) अगाडि रहेको मंसिर ४ मा सम्पन्न छ भने नेपाली काङ्ग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रोस्थान रहेको छ ।

निर्वाचन आयोगका अनुसार बिहानसम्मको मतगणना अनुसार नेकपा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरी पहिलो बनेको छ भने नेपाली काङ्गेस २६ लाख ८८ हजार २१८ मत सहित दोस्रो स्थानमा रहेको छ ।

यसैगरी तेस्रोस्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले समानुपातिक तर्फ ११ लाख ६४ हजार १०२ मत पाएको छ भने नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत ल्याएको छ । राजावादी भनिने राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा ५ लाख ८६ हजार ८१६ मत पाएको छ । यसले समानुपातिकमा पाएको मतलाई हेर्दा राप्रपाले उठाउँदै आएको संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको नारालाई नेपाली जनताले चाहेको देखिंदैन ।

यता मधेसवादको नाममा क्षेत्रीय राजनीतिक गरेको जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाउँदा पहिलो पटक आम निर्वाचनमार्फत् मूलधारको राजनीतिमा देखापरेको डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ ।
एमालेबाट विभाजन भै बनेको नेकपा (एकीकृत समाजवादी)ले भने थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउन सकेन । उसले समानुपातिक तर्फ दुई लाख ९६ हजार ९० मत पाएको छ । अन्य साना दलहरुले पनि समानुपातिकमा खासै मत पाउन सकेको देखिंदैन ।