काठमाडौं – यही मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आज मङ्गलबार सकिने भएको छ । प्रत्यक्षतर्फको मतगणना भने हिजो सोमबार नै सकिएको हो ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ३० हजार ४ सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगले जनाएको छ ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । त्यसका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८ हजार ८ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेको जनाइएको थियो ।