काठमाडौं – यहि मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष छ । हिजो अपराहान्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचनको परिणाम अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको हो ।
प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा र समानुपातिक मतको ट्रेन्ड हेर्दा गठबन्धनको पक्षमा उत्साहजनक मत नआएको गठबन्धनको निष्कर्ष छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएको भन्दै निर्वाचन आयोग र सरकारलाई धन्यवाद पनि दिएको बताइएको छ ।
बैठकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल जनमोर्चाबाट दुर्गा पौडल लगायतको सहभागीता थियो ।