काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले इण्डोनेशियाको भ्रमण रद्द गर्नुभएको छ । मन्त्रीराष्ट्रमन्त्री डा.खड्का इण्डोनेशियाको बालीमा आगामी बिहीबार हुने बालि डेमोक्रेसी फोरममा सहभागी हुन भोलि मङ्गलबार साँझ त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो ।

मन्त्री खड्काको इण्डोनेशिया भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पठाइसकेको थियो । तर अन्तिम समयमा आएर प्रधानमन्त्री देउवाले मन्त्री खड्काको भ्रमणको आवश्यकता नरहेको बताएपछि खड्का रोकिनुभएको हो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, ‘भ्रमण तयारी जारी थियो । तर प्रधानमन्त्रीज्यूले भ्रमणमा नजान निर्देशन दिएपछि अन्तिम समयमा भ्रमण रोकियो ।’ मन्त्री खड्का नगए पनि परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बालि डेमोक्रेसी फोरममा नेपालका तर्फबाट प्रतिनिधीत्व गर्ने हुनुभएको छ ।