फाइल तस्वीर ।
काठमाडौं– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हालै सम्पन्न निर्वाचन पछि सत्ता गठबन्धनको यो बैठक पहिलो हो ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा.प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको उपस्थिति रहेको छ ।

यसैगी नेकपा (माओवादी केन्द्र)को तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी हुनुहुन्छ भने राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल बैठकमा उपस्थित हुनुभएको छ । गठबन्धनको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी बैठकमा नबोलाइएको हुँदा सहभागी छैन ।

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल भैरहेको छ । मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जिते पनि सरकार गठनका लागि स्वतन्त्र वा अन्य कुनै साना दलको आवशयकता रहेको छ । सत्ता गठबन्धमा सबैभन्दा ठूलो दल बनेको नेपाली काङ्ग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा रहेको छ ।