फाइल तस्वीर

काठमाडौं – देशभर तापक्रम आरोलो लागिरहेको छ । यसै क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्रीबाट पनि तल झरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाले दिएको जानकारीअनुसार आज काठडमाडौँ उपत्यकाको तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस छ । हिजो आइतबार उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ० डिग्री सेल्सियस थियो ।

मौसमविद् झाले काठमाडौँ उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको जानकारी दिए । चिसोबाट बच्न महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत जारी गरेको छ । जसमा भनिएको छ ः तराई भूभागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

मौसमविद् झाले देशभर आज कतै वर्षा र हिमपातको सम्भावना नरहेको बताए । मौसम महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) प्रदेश १ को पहाडी भेग तथा उच्च पहाडी र हिमाली भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।