बालकृष्ण शिवाकोटी गङ्गा कार्की, फाइल तस्वीर,
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि दोलखामा मतगणना भैरहेको छ । प्राप्त पछिल्लो मतगणनाको नतिजा अनुसार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीलाई पछि पार्दै पुनः नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी झिनो मतले अगाडि आएका छन् । दुवै कम्युनिस्ट पार्टीका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कहिले माओवादी केन्द्रका उम्मेदवार त कहिले एमालेका उम्मेदवार अघि हुनेक्रम जारी छ । अन्तिम नजिता कस्को पोल्टामा पर्छ भन्ने अवस्था अझै देखिएको छैन ।

ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी माओवादी केन्द्रका उम्मेदवार कार्कीभन्दा ३६ मत अन्तरले अगाडि देर्खिका छन् । शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि शिवाकोटी ११४ मत अन्तरले पछि रहेका थिए । अब विगु गाउँपालिकाको लामाबगर, शैलुङ गाउँपालिकाका दूधपोखरी र भुषाफेदा र मेलुङ गाउँपालिकाको पवटीको मत गणना हुन बाँकी छ ।

मङ्सिर ४ गते आइतबार भएको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित निर्वाचन आयोगले ती क्षेत्रमा पुनः मङ्सिर १५ गते निर्वाचन गराएको थियो । सोही जिल्लाबाट प्रदेशसभा (क) बाट बागमती प्रदेशसभा सदस्यमा भने नेपाली काङ्ग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भइसकेका छन् ।