फाइल तस्वीर ।


काठमाडौं –सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज आइतबार दिउँसो २ बजेपछि पार्टी कार्यालयमा बस्नेछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा, आगामी नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न पार्टी पदाधिकारीको बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो शनिबार पनि बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग पनि छलफल गर्न सकिने भन्दै विभिन्न विकल्पहरु खुला राख्ने बहस चलेको थियो ।

हिजोको बैठकमा नेताहरूले हालैसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको तर आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । केही पदाधिकारीहरुले पार्टी सरकारमा जान नहुने तर्कगर्दै सरकारलाई समर्थन गर्न भने सकिने धारणा राख्नुभएको थियो ।

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने रणनीति लिएको छ ।

आजको बैठकमा पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुने कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी गराउनु भएको छ ।