फाइल तस्वीर
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकतामाथि छानविन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेको नागरिकतासम्बन्धमा अध्ययन अनुसन्धान गरी छानविन गर्न प्रहरीलाई पत्राचार गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्रपठाइ छानविन गर्न भनिएको छ । प्रहरी परिसर काठमाडौले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताबारे छानविनका लागि पत्र आएको पुष्टि गरिएता पनि सोसम्बन्ध अन्य थपकुरा बताउन चाहेन ।

गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धमा उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा छानविनका लागि पत्राचार भएको बताइएको छ ।

अमेरिकी पासपोर्ट त्यागेपछि रास्वपाका सभापति लामिछानेले नेपाली नागरिक लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो । निवार्चनको उम्मेदवारी दिनेक्रममा पनि चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा समेत लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको थियो । रास्वपाका सभापति लामिछानेले नागरिकतासम्बन्धी समस्या पहिले नै समाधान भैसकेको बताउँदै आएका छन् ।