फाइल तस्वीर

काठमाडौं – नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता हुने कुरालाई निराधार भनेको बताएको छ । यहि मङ्सिर ४ गते आइतबार भएको निर्वाचनपछि समानुपातिकतर्फ (तीन प्रतिशत) थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा पुगेको एकीकृत समाजवादीले अहिले नै माओवादीसँगको एकता गर्ने कुरा सत्य नभएको पुष्टि गरेको हो ।

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले आज शुक्रबार एक वक्तव्य निकाल्दै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने कुरामा आफूहरु सहमत भएता पनि माओवादी केन्द्रसँग एकताको कुरालाई भने असत्य भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।, ‘यो प्रचार पूर्णतः निराधार हो , यसमा कुनै सत्यता छैन । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्द बनाउनुपर्ने आवश्यकतामा हामी प्रष्ट छौं, तर अहिले त्यसबारे निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही भएको छैन ।’ उहाँले हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएको समेत उल्लेख गर्नुभएको छ ।