काठमाडौं – उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय नै पदाधिकारीविहीन भएका छन् । पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन् । लामो समयदेखि नेतृत्वविहीन भएका यी निकायमा नयाँ नियुक्तिका लागि सम्बन्धित निकायले चासो दिएको छैन ।

नेपाल खुला विश्वविद्यालयमा सामाजिक शिक्षा, प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय २०७८ भदौदेखि डिनविहीन छ । त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ । उपकुलपति डा. शिलु मानन्धर (वज्राचार्य) यसअघि व्यवस्थापन तथा कानुन सङ्कायको डिन हुनुहुन्थ्यो । डिनको हैसियतमा उहाँको कार्यकाल अघिल्लो वर्षको भदौ महिनामै सकिएको थियो । उहाँ गत माघमा उपकुलपतिमा नियुक्त भैसक्नुभएको छ ।


डा. मानन्धर नियुक्त हुनुअघि उपकुलपति पद नौ महिनादेखि रिक्त थियो । गत पुसमा गोविन्दसिंह विष्ट रजिष्ट्रारमा नियुक्त हुनुअघि उक्त पद पनि नौ महिनासम्म रिक्त थियो । अहिले विश्वविद्यालयको वेबसाइटमा तीनवटै सङ्कायमा पूर्वडिनको हैसियतमा तीन जनाको सन्देश राखिएको छ ।

देशका कुना कन्दराबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवाहरु उज्जवल भविष्यको सपना बुनेर राजधानी हुँइकिने गरेका छन्, त्यहि उच्च शिक्षा अध्ययन गर्ने अभिलाशामा । तर देशकै राजधानीका विश्वविद्यालय महिनौंदेखि पदाधिकारीविहीन बनेको छ । यसतर्फ न कुनै राजनितिक दलको आँखा पुगेको छ, न त शिक्षा मन्त्रालयकै । देश विकासको मेरुदण्ड मानिने शैक्षिक क्षेत्रको त यस्तो हालत छ, अरु त के कुरा ! महिनौंदेखि नेतृत्वविहीन भएका यी निकायमा नयाँ नियुक्तिका लागि सम्बन्धित निकायले कहिले चासो दिने ? यो नै प्रश्नको विषय बनेको छ ।