काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ । भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा भाउ घटाउनेबारे कुनै छलफल नभएको निगम स्रोतले बताएको छ । बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ । त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ । तर निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी भएकाले तत्काल नेपाली बजारमा भाउ कम हुने या नहुनेबारे यकिन छैन ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन । आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ । सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ । आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।