फाइल तस्वीर


चरिकोटदोलखा जिल्लामा हालैसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार अगाडि देखिएका छन् । आज बिहानको मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले २ हजार ३३९ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटीबीचको मतान्तर १ हजार ४०७ मतले फरक रहेको छ ।

यसैगरी प्रदेशसभातर्फ प्रदेश (क) मा नेपाली काङ्ग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले पहिलो स्थानमा र नेकपा एमालेका नरबहादुर श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् । काफ्लेको पक्षमा १ हजार ६६३ मत खसेको छ भने श्रेष्ठको पक्षमा १०५४ मत आएको छ । सोही जिल्लाको प्रदेश (ख)मा भने नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी अगाडि देखिएका छन् । केसीले २ हजार १७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन् ।

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मङसिर ४ गते भएको निर्वाचनमा धाँधली भएपछि मङ्सिर १५ गते बिहीबार पुनः मतदान भएको थियो । त्यसको मतगणना गए रातिदेखि जारी छ ।

यता बाजुरा र स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ भने नेपाली काङ्ग्रेसका उम्मेदवारहरु नै अगाडि देखिएको छन् । पछिल्लो मत परिणाम अनुसार बाजुरामा नेपाली काङग्रेसका उम्मेदवार बद्री पाण्डेले ५ हजार १०६ मत प्राप्त गरी अग्रस्थानमा रहँदा दोस्रोस्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर १ हजार ११२ रहेको छ ।

यसैगरी स्याङ्जा क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काङग्रेसका उम्मेदवार धनराज गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल मत ९ हजार ५०२ प्राप्त गरेकी छन् । यी दुई प्रतिस्पर्धीबीचको मतान्तरण २ हजार ४१८ मत रहेको छ ।

मङसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको भन्दै एमालेले मतगणना गर्न नमानेपछि केही दिन मत गन्ने काम रोकिएको थियो । निर्वाचन आयोगले बुधबार मत गणना गर्न निर्देशन दिएपछि यी दुवै स्थानको मत गणना गर्नेकाम बुधबारबाटै सुरु भएको हो । अहिले यी जिल्लामा विनाविवाद शान्तिपूर्ण रुपले मत गन्नेकाम भैरहेको निर्वाचन आयोगले जनाएको छ ।