साङ्केतिक तस्वीर


काठमाडौं – हालै सम्पन्न निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फका मत परिणामको अन्तिम नजिता आउन सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्षप्रणालीको बाजुरा, दोलखा र स्याङ्जा जिल्लाको एउटा निर्वाचन क्षेत्रको मत परिणाम आएको छैन । ति ठाउँको मतगणता जारी छ ।

यसैगरी समानुपातिक प्रणालीतर्फको पनि अन्तिम नतिजा आउन समय लाग्ने भएको छ । यद्यपि, समानुपातिकतर्फ आज बिहानसम्म १ करोड ३ लाख ७९ हजार मतगणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त नयाँ तथ्याङ्कअनुसार अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) नै अग्रस्थानमा रहेको छ । एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ । यसैगरी दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसको पोल्टामा २६ लाख ४३ हजार २९६ मत परेको छ भने तेस्रो शक्तिको रुपमा देखिएको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार १७३ मत पाउँदा पाएको छ ।

नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६ मत पाएको छ भने संवैधानिक राजतन्त्र र हिन्दुत्वको नारा लिएर निर्वाचनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७ मत पाएको छ ।

यसैगरी जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८ मत, जनमत पार्टीले ३ लाख ९४ हजार ३४०, नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार १८ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २७८ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि न्यून मत प्राप्त गरेका दलहरुमा नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४२ मत प्राप्त गरेको छ भने हाम्रो नेपाली पार्टीले ५५ हजार ५८७ र मङ्गोल नेसनल अर्गनाइजेसनले ४८ हजार ५०४ मतमात्र प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादीलगायत नागरिक उन्मुक्ति पार्टी, लोेकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र मङ्गोल नेसनल अर्गनाइजेसनले थ्रेसहोल्ड कटाउन सक्ने अवस्था नहुँदा यी पार्टीहरु राष्ट्रिय पार्टीका रुपमा रहने छैन । त्यसो त नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने सङ्घारमा चाहिँ पुगेको छ ।