प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष डा. राउत, तस्वीरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतबीच आज बिहीबार भेटवार्ता भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताको भेटमा आगामी दिनमा आपसी सहकार्य गरेर अघिबढ्ने सहमित भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । उक्त अवसरमा दुवै नेताले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको भन्दै बधाई र शुभकामना साटासाट गर्नु भएको बताइएको छ । आगामी सङ्घ तथा मधेश प्रदेशमा सरकार गठनका विषयमा दुई पार्टीका शीर्ष नेताबीच छलफल भएको छ । नेपाली काङ्ग्रेसका नेता नेता बिमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष राउतलाई प्रधानमन्त्रीसँग भेटगराउनु भएको हो । उक्त भेटवार्तामा नेपाली काङग्रेसका उपसभापति पूर्णबहादुर खड्काको समेत उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि जनमत पार्टीका अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्नेलगायतका एजेण्डा उठाउनु भएको र जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा सो पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको बताइएको छ ।

जनमत पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभा सदस्यमा सात स्थानमा विजय हासिल गरेको छ । अध्यक्ष डा.राउत सप्तरी जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । सो पार्टीका उम्मेदावरहरु मधेश प्रदेशमा पाँच र लुम्बिनी प्रदेशमा एक र प्रतिनिधिसभा सदस्यमा एक गरी सात स्थानमा निर्वाचित भएका छन् । जनमत पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय पार्टी बन्ने भएको छ ।