काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताउनुभएको छ । आज आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवमा दिगो आर्थिक विकासको लागि आर्थिक एजेन्डाका बारेमा बोल्दै उहाँले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताउनुभएको हो ।

उहाँले आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भए पनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको भन्दै राजनीतिक स्थिरताका निमित्त धेरै आस गर्ने ठाउँ नरहेको बताउनुभयो ।

एमालेका उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘स्थिरता र अस्थिरता जनादेशमा भर पर्ने कुरा हो । यस पटकको जनादेशबाट स्थिर सरकार बन्दैन । यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ । यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ । म कुनै एउटा पार्टीले बहुमत ल्याओस् भन्ने चाहन्थेँ । एउटा कार्यकाल उसको पोलिसीको आधारमा देशको नेतृत्व गरोस् । उसका नीतिहरूको व्यवहारिक रूपमा परीक्षण होस् भन्ने म चाहन्थेँ । तर चाहनामाथि जनादेश छ । राजनीतिक स्थिरताका निमित्त त्यत्ति धेरै आशा गर्ने ठाउँ छैन ।’

उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरूको मूल्याङ्कन हुन जरुरी रहेको बताउनुभयो । उहाँले संविधान निर्माणपछि बनेका सरकारको कामहरू वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्ने माग गर्नुभयो । उहाँले नेकपा एमालेको गरेका उपलब्धि र कमजोरीको आफूले जिम्मेवारी लिने पनि बताउनुभयो । उहाँले नेकपा एमालेको तत्कालीन सरकारले कोरोना भाइरस र भूकम्पको बेलामा पनि अर्थतन्त्रलाई लयमा राखेको तर अहिलेको सामान्य अवस्थामा पनि किन असामान्य परिस्थिति भएको छ भन्दै प्रश्न समेत गर्नुभयो ।

उपाध्यक्ष पौडेलले देशको आर्थिक सङ्कट कल्पनातित रहेको भन्दै मुलुकले भोगिरहेको अर्थ सङ्कटलाई केस वाइज विश्लेषण हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उपाध्यक्ष पौडेलले सरकारमा बसेर निजी स्वार्थका लागि नीति निर्माण गर्ने हो भने तत्कालका अर्थतन्त्रका समस्या समाधान गर्न नसकिने बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र लगायतका आर्थिक क्षेत्रका सबै पक्षहरूको सहभागितामा छलफल हुनु जरुरी रहेको बताउनु्भयो । उहाँले सबै क्षेत्रहरू बसेर निकालिएको निष्कर्ष समान ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष पौडेलले हाल आर्थिक क्षेत्रमा असाधारण समस्या रहेको भन्दै साधारण समस्याको समाधान पनि असाधारण हिसाबमै हुनुपर्ने बताउनुभयो । उहाँले मुलुक आर्थिक क्षेत्रमा असाधारण संकटको डिलमा पुगेको भन्दै प्रचलित अभ्यासबाट अहिलेका आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताउँदै सरकारसँग निजी क्षेत्रको विश्वास टुट्दै गइरहेको पनि स्पष्ट पार्नुभयो ।