बाजुरामा मतगणना सुरु गर्न बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । आज बिहीबार बिहान ७ बजे बसेको सर्वदलीय बैठकमा नेकपा एमालेका प्रतिनिधि अनुपस्थित भएपछि बैठक निष्कर्ष विहिन भएको हो ।
बैठक फेरि ११ बजेका लागि डाकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । ‘निर्वाचनको निष्पक्षता र विश्वस्नियताका लागि सर्वदलीय सहमति खोजिएको छ,’ अहिलेको बैठकमा सहमति जुटेन,’ उहाँले भन्नुभयो ।
निर्वाचन आयोगले बुधबार बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै गणना सुरु गर्न निर्देशन दिएतन पनि अझैसम्म मतगणना सुरु हुन सकेको छैन ।
मतदानको दिन हत्या गरिएका एमाले निकट अनेरास्ववियुका चेतन ऐडीको घटनामा संलग्न दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै एमाले आन्दोलनमा छ।
बाजुराको प्रतिनिधि सभातर्फका उम्मेदवार एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले प्रमुख जिल्ला अधिकारीसंग भेट गरेपछि बैठकमा सहभागी हुने एमाले बाजुराका अध्यक्ष कालीबहादुर शाहीले बताए।
‘सुरुमा सीडीओ सावसंग बस्छौं, त्यसपछि सर्वदलीय बैठकमा सहभागी हुन्छौं,’ उनले भने, ‘मतदानको दिन भएको घटनाको सत्य, तथ्य छानविन गरेर दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग छ।’