फाइल तस्वीर


भरतपुर – तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दावेदारी रहेको बताउनु भएको छ । वरिष्ठ नेता पौडेलले चितवन पुगेर पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका निम्ति स्वभाविक रुपमा आफ्नो दावी रहेको बताउनु भएको हो ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिंदै काङ्ग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्नुपर्ने र त्यसको नेतृत्व आफूले पाउनुपर्ने जिकिर गर्नुभयो । सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै नेता पौडेलले सरकार गठन गर्ने विषयमा दलहरुबीच सल्लाह भैरहेको र गठबन्धनको बहुमत पुगेकोले गठबन्धनकै सरकार बन्ने उहाँको दावि थियो ।

नेपाली काङ्ग्रेसभित्र प्रधानमन्त्रीको आकाङ्क्षीमा अहिले पार्टीसभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी महामन्त्री गगनकुमार थापा देखिनु भएको छ । पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने प्रश्नको जवाफमा वरिष्ठ नेता पौडेलले ‘पार्टी भित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने छ भन्दै पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी नै छ’ भन्नुभयो ।