फाइल तस्वीर


सिन्धुपाल्चोक– गत जेठदेखि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब छिट्टै वितरण हुने भएको छ । यही महिनाको अन्त्यदेखि मेलम्चीको पानी सुरुङद्वारा काठमाडौंस्थित सुन्दरीजलको पानी प्रशोधन केन्द्र खसालेपछि पानी वितरण गरिने भएको हो ।

उक्तको जानकारी खानेपानीमन्त्री उमाकान्त चौधरीले दिनुभएको हो । मन्त्री चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनु भएको छ । आज बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बारे बुझ्न मुहानस्थल अम्बाथानको निरीक्षण पश्चात् २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरु गरिने बताउनुभयो ।

गत जेठ दोस्रो सातादेखि मेलम्ची आयोजनाको पानी वितरण कार्य बन्द गरिएको करिब करिब ७ महिनापछि पुनः सुरुङमा पानी पठान्तरणका काम भएको छ । उक्त सुरुड भरिन कम्तिमा १०देखि १२ दिन लाग्ने आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी पठान्तरणको काम गत सोमबारदेखि थालेको छ ।

मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पठान्तरणका लागि कार्ययोजना बनाइएको बताउनुभयो । मन्त्री चौधरीले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले अब स्थायी रुपमा पानी वितरण हुनेगरी काम गर्ने बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको अनुगमन निरीक्षणमा मन्त्रीसँगै जानुभएका खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव गेलालले अम्बाथान माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गर्न काम सुरु भएको जानकारी गराउनुभयो ।

अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अब करिब करिब ३१ करोड रुपैयाँ खर्च गर्ने हो भने मेलम्चीबाट बाह्रैमहिना निरन्तर पानी लैजान सकिने र उपभोक्तालाई पानी वितरण गर्न सकिने मन्त्रालयका सचिव गेलालले बताउनु भयो ।